काठमाडौं – बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएपछि अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएको छ । नयाँ स्वरुपको कोरोना देखिएपछि अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन्।
यसैबीच कोरोनाभाइरसको संक्रमण अवस्था बारे सामाजिक सञ्जालमार्फत विभिन्न जानकारी दिदै आएका डा। रवीन्द्र पाण्डेले यसबारे आज थप जानकारी दिएका छन् ।
उनको स्टाटस यस्तो छ – बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ । यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ। हाल महामारी ल्याएको कोरोनाको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० % बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन् । यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ।
म्युटेसन भएर आएको यो प्रजातिको ‘ स्पाइक प्रोटिन ‘ जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्याउने काम गर्छ, पहिलेको भन्दा फरक भएको जनाइएको छ । यो फरक प्रजातिमा हाल बिकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ ।
कोरोना यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संसोधन गर्दै प्रत्येक बर्ष लगाइरहनु पर्ने हुनसक्छ । त्यस्तै नयाँ प्रजाति फैलियो भने पहिले संक्रमण भएर निको भएका व्यक्तिको एन्टिबोडीले काम नगर्न सक्छ ।
अहिले बेलायतसंग संसारले नै हवाइ सम्पर्क बिच्छेद गरेको छ भने सिमाना जोडिएको फ्रान्सले ४८ घन्टाको लागि आवतजावत बन्द गरेको छ । यसले गर्दा खाधान्न तथा औषधि बोकेका हजारौं लरी सडकमा फसेका छन् । WHO लगायत अन्तराष्ट्रिय संघसंस्थाहरुले यो प्रजातिको कोरोना भाइरसको अध्ययन सुरु गरेका छन् । केहि दिनमै यो प्रजातिको धेरै विवरण आउने अपेक्षा गर्न सकिन्छ ।
यो महामारीबाट बच्ने प्रमुख उपाय नै जनस्वास्थ्यका मापदण्डलाई जीवनशैली बनाउनु हो। सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाउने, २ मिटरको दुरी कायम गर्ने, भीडभाड नगर्ने, भेन्टिलेसन कायम गर्ने तथा हातको सफाई र अनुशाशन कायम गर्ने हो भने परिवर्तित प्रजातिबाट पनि बच्न सकिन्छ ।
त्यस्तै महामारीको समयमा सामना गर्नुपर्ने कठिन परिस्थितिमा आत्मबल तथा मानसिक शक्ति प्रबल गराउनु जरुरी हुन्छ।