काठमाडौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई नेकपाको पिलो भएको संज्ञा दिएका छन् । बालुवाटारमा आफूनिकट केन्द्रीय समिति सदस्यको बैठकमा ओलीले धेरै समय प्रचण्ड र माधव नेपाल गुटविरुद्ध आफ्ना शब्दहरु खर्चिए ।
उनले प्रचण्ड पिलो भएको र पिलो निचोरिँदैमा आफ्नो पार्टीलाई कुनै असर नपर्ने दाबी गरे । ओलीले आफूलाई प्रचण्डले गाली गरेको र नेकपाबाट नै निकाल्ने रणनीति सुरु गरेको आरोप लगाएका छन् । बालुवाटारमा आफ्नो गुटको बैठकमा बोल्दै प्रम ओली सुरुदेखि अन्त्यसम्म नै प्रचण्डविरुद्ध खनिएका छन् ।
अध्यक्ष ओलीले आँफुले गरेको निर्णय अदालतले उल्टाउन नसक्ने बताएका छन् । उनले संसद विघटनको निर्णय अदालतले उल्टाउन नसक्ने बताएका हुन् । राष्ट्रपतिसँग निकटता भएकै कारण संसद विघटन गर्न सफल भएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो गुट भेलामा यस्तो बताएका हुन् । ओलीले चुनाव जसरी पनि हुने बताए । उनले भने, कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको पाइयो ।
यस्तो हुन सक्दैन । बालुवाटारमा गुटको भेलापछि उनले जारी पत्रकार सम्मेलनका क्रममा प्रचण्ठलाई एकपछि अर्को प्रहार गर्न भ्याए । प्रचण्डविरुद्ध एकपछि अर्को गर्दै खनिएका ओलीले बैठक चलिरहेकै बेला पटक पटक प्रचण्ड विरुद्ध रन्किँदै ओलीले भने साथीहरु हल्ला नगरौँ, फोन बन्द गरौँ भने ।