काठमाडौं । अन्तत लामो समय विवादमा झेलिरहेको सत्तारुढ दल नेकपाले अनौपचारीक रुपमा पार्टी अलग गरेको छ । दुई भागमा बाँडिएको पार्टीले समानान्तर केन्द्रिय समितिको बैठक गरेका छन् । मंगलवार ओली समुहले बालुवाटारमा केन्द्रिय समितिको बैठक गरेको छ भने प्रचण्ड र माधव नेपाल समुहले बबरमहलमा बैठक गरेको छ ।
प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समुह अलगिएका हुन् । ओली समुहले महाधिवेश मिति तोक्दै केन्द्रिय समितिमा नयाँ नेतालाई चयन गरेको छ । प्रचण्ड समुहले अध्यक्षवाट केपी ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको छ ।
नेताहरु दुई भागमा बाँडिएको बेलामा कुनै नेताको परिवार पनि बाँडिएको छ । श्रीमान श्रीमती नै राजनीतिमा रहेकाहरु पनि दुई खेमामा बाँडिएका हुन् । अहिले राजधानी नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ ।
सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् । महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन् ।