भारतका विदेशमन्त्री एस जयशङ्करले नेपाल र भारत दुई देशबीच विद्यमान विवादको स्थितिबाट अघि बढ्न पारस्परिक रूपमा सहमति भएको टिप्पणी गरेपछि केही नेपाली परराष्ट्रविद्हरूले ठोस विषयमा उपलब्धि नभएसम्म त्यसलाई प्रगति मान्न नसकिने बताएका छन्।
उनीहरूले दुई देशबीच एक वर्षभन्दा लामो समय चलेको संवादहीन परिस्थिति अन्त्य हुनु सकारात्मक भए पनि द्विपक्षीय समस्याहरू समाधान गर्ने दिशामा खासै केही नभएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारले नेपाल र भारतबीच देखिएका विवादहरू छलफलबाट टुङ्गो लगाउने उद्देश्यसहित वार्ताहरू अघि बढेको भन्दै अझ उच्च तहमा छलफलहरू हुन लागेकाले त्यो सकारात्मक भएको बताए।
केही साताको अन्तरालमा दिल्लीबाट भारतीय गुप्तचर निकायका प्रमुख, सेनाध्यक्ष र विदेशसचिवले नेपालको भ्रमण गरेपछि सीमा विवादको छायामा परेको नेपाल-भारत सम्बन्ध पुरानै अवस्थामा फर्किएको केहीको धारणा छ।
नेपालबारे जयशङ्करले के भने?
सन् २०१६ मा नेपालले संविधान जारी गर्दा उक्त प्रक्रिया केही समय पर सार्न आग्रह गरिएको भारतीय प्रधानमन्त्रीको सन्देश लिएर नेपाल आएका जयशङ्करले नेपालबारे खासै सार्वजनिक टिप्पणी गर्ने गरेको पाइँदैन।
नेपाल-भारत नक्सा विवाद थाती रहला कि समाधानतर्फ मोडिएला
तर भारतीय अखबार द हिन्दुलाई दिएको अन्तर्वार्तामा संविधान जारी गर्ने विषयमा नेपालसँग देखा परेको चिसोपन र यस वर्ष जारी गरिएको नयाँ नक्सामा नेपाल अडिग रहँदारहँदै दिल्लीबाट भएका उच्चस्तरीय भ्रमणहरूका बारेमा उनी बोलेका छन्।
नेपाल-भारत
उनले कुनै घटनाविशेषलाई निर्णायक मापदण्ड बनाउन नहुने भन्दै कुनै पनि समस्या नभएका दुई छिमेकी देश आफूलाई देखाउन भनेका छन्।
जयशङ्करको भनाइ छ, “हाम्रा अधिकांश छिमेकीहरूमा आज प्रजातन्त्र छ। उनीहरूको आफ्नै राजनीति छ र हाम्रो आफ्न। त्यही भएर समस्याहरू हुन्छन्। तपाईँले त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ त्यो मुख्य प्रश्न हो।”
“नेपालको बारेमा भन्नुपर्दा हामीबीच विवाद भएको एउटा अवधि थियो, तर मलाई लाग्छ पछिल्ला साताहरूमा नेपाल र भारतले (अघि बढ्ने) निर्णय गरेको स्पष्ट देख्न सक्छौँ र यो पारस्परिक हो।”
अन्तर्वार्ताको एक ठाउँमा आफू अमेरिकाको साझेदार नरहेको उल्लेख गरेका जयशङ्करलाई नेपाल र श्रीलङ्कामा मिलेनीअम च्यालेन्ज कार्यक्रम (एमसीसी) का नाममा भइरहेको अमेरिकी गतिविधिबारे पनि सोधिएको थियो।
उत्तरमा दिँदै उनले विगतमा अमेरिकाले भारतप्रति विगतमा वैमनस्य राख्ने गरेको भए पनि अहिले अवस्था त्यस्तो नरहेको भन्दै आफ्नो मूल्याङ्कन पनि फरक रहेको बताएका छन्। बिबिसी