शिवहरि पौडेल, हास्य कलाकार
२०४० सालमा हेटौँडाबाट काठमाडौँ आएको हुँ । यहाँ आएपछि अरूको जस्तै मेरो पनि काठमाडौँमा घर होओस् भन्ने चाहना थियो । तर, कोठाको भाडा तिर्नै धौ–धौ पर्ने बेला काठमाडौँमा घर होला भनेर सोचेको पनि थिइनँ । घरको सपना त ‘आकाशको फल, आँखा तरी मर’ जस्तै थियो ।
मैले लगभग एक दशक डेरा जीवन बिताएँ । १० वर्षमा १० भन्दा बढी ठाउँमा डेरा सरियो । म डेरा सर्दासर्दा पलङ खोल्दा र जोड्दा, सामान गाडीमा लोड–अनलोड गर्दा हत्तु हुन्थेँ । जहाँ डेरा सरेँ पनि पानीको समस्या हुन्थ्यो । त्यसबेला म एउटा अफिसमा काम गर्थें । ५ बजेपछि सबै घरतिर लाग्थे तर म भने अफिसको बाथरुमतिर नुहाउन जान्थेँ । पानी नै नभएको घरमा पनि समयमा भाडा नतिरे घरबेटीले थर्काउँथे । भाडा तिर्न नसक्दा निस्केर जा भन्थे ।
एक दिन काठमाडौँ, सुन्धारामा डुलिरहेको थिएँ । त्यहाँ एउटा सानो चिटिक्क परेको घर देखेँ । पछि थाहा पाएँ, त्यो सार्वजनिक शौचालय रहेछ । मलाई पनि त्यस्तै भए पनि काठमाडौँमा घर बनाउने हुटहुटी चल्न थाल्यो । त्यही सार्वजनिक शौचालयले मलाई घरको सपना देखायो ।
दिनरात नभनी जागिर गरेर ८० हजार रुपैयाँ जम्मा गरेँ । जग्गा किनेँ । बैँकबाट ८४ हजार रुपैयाँ ऋण लिएँ । त्यो पैसाले घरको जग हालेँ । जग त जसोतसो हालेँ तर घर ठड्याउने पैसा भएन । त्यो जग हालेको जग्गालाई ५ लाख रुपैयाँ दिने एक जना मान्छे भेटिए । जग हालिसकेको जग्गा बेचेर नैकापमा आठ आना जग्गा किनेँ । बैँकमा ऋण लिएर घर बनाएँ ।
पैसा अभावले दुई वर्षसम्म झ्यालमा सिसासमेत हाल्न सकिनँ । प्लास्टिक ठोकेर बसेँ । प्लास्टिक ठोकेर बस्दा पनि घरचाहिँ ठड्याएँ है भनेर मख्ख थिएँ । पछि विस्तारै ऋण तिर्दै गएँ । घरको तला थप्दै गएँ । झ्यालढोकामा सिसा राख्दै गएँ । अहिले घरबाहेक सिजनअनुसार तरकारी लगाउने सानो टुक्रो जग्गा पनि छ । तर, दुई दशक घरको ऋणमा चुर्लुम्मै डुब्नु पर्दाको क्षण कहालीलाग्दो छ ।
घर भएको भए के–के न होलाजस्तो लागे पनि केही नहुने रहेछ । झन् टेन्सनको भारी । कस्तो मान्छे भाडामा बस्न आउलान् भन्ने चिन्ता त छँदै छ । डेरामा हुँदा भित्ता चर्किए, पानी नआए, धारा टुटेफुटे घरबेटीलाई गुहारे पुग्थ्यो । मैले पैसा तिरेको छु भनेर भन्न पाइन्थ्यो । आफ्नो घरमा त्यसो गर्न मिलेन । प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी सबै आफैँ बन्नु परेको छ ।
तर, आफ्नो घर हुँदा कसैको डरभर भने हुँदैन । पाहुनापाछा आउँदा होस् वा आफू कामबाट अबेर घर फर्किंदा निर्धक्क भइयो ।
घर बनाउँदा गरेको गल्ती
घरपरिवार हेरेर बनाउनुपर्ने रहेछ । मैले भाडामा बस्ने मानिस हेरेर बनाएँ, जुन सबैभन्दा ठूलो गल्ती हो । घर भाडामा राख्ने मानिस होइन, परिवारलाई हेरेर बनाउनुपर्ने रहेछ । ठूलो घर बनाएर आधा जीवन किस्ता तिर्दैमा बित्यो । अरूलाई देखाउनका लागि ठूलो घर बनाएर काम रहेनछ । सरसफाइदेखि सबै कुरामा पछि पछुताउने पर्ने रहेछ । घरमा प्रयोग गरेका सामानदेखि डेकुरेसन सम्झिएर अहिले पछुतो लाग्छ । यो ठाउँमा त्यसो नगरेर यसो गर्नुपर्ने रहेछ भन्ने भइरहन्छ ।त्यसबेला घर राम्रो नबनाउनाले अहिले घर बेच्नुप¥यो भने पनि जग्गाको मात्र भाउ आउँछ । घरको भाउ आउन मुस्किल छ । घरमा लगाउने रङ पनि अहिले राम्रो–राम्रो मोडलमा आएका छन्– धुलो–मैलो लाग्यो भने पुछेर पनि जाने खालका । वालपेपर पनि लगाउन मिल्दो रहेछ । आफूले त्यो बेला जानिएन ।
घर बनाउनेलाई शिवहरिका सुझाव
सीमित रकम बोकेर घर बनाउन थाल्नु हुँदैन । २० लाख लिएर घर बनाउन थालेको छ भने ४० लाख रुपैयाँ लाग्न सक्छ । नत्र पैसा बचाउँदै घर बनाइन्छ । यसो गर्दा घर आफूले सोचेअनुरूपको बन्दैन । भाडामा दिने हिसाबले घर नबनाउनू । घर बनाएको खर्च भाडाको पैसाले उठाउला भनेर कहिल्यै नसोचे पनि हुन्छ । घर बनाउँदा लोभिनु हुँदैन । दिल खोलेर खर्च गर्नुपर्छ । नत्र पछि पछुताइन्छ । सामान सकेसम्म कमसल नहालौँ । छिट्टै बिग्रिन्छ, भत्किन्छ, नासिन्छ । बरु बजेट कम छ भने घर पनि सानो बनाउँदा बेस ।घरको भित्तामा रङभन्दा वालपेपर लगाउँदा राम्रो देखिन्छ । तर, बच्चा छन् भने वालपेपर नलगाउँदा राम्रो । कोतरेर बिगार्न सक्छन् । अरूको घर हेरेर नक्कल गर्नु हुँदैन । घर आफू बस्न बनाउने हो, अरूलाई देखाउन होइन । बाहिरीभन्दा घरको भित्री सुन्दरतामा ध्यान दिनुपर्छ । बाहिर साधारण बनाउँदा राम्रो । बाहिर जति नै राम्रो बनाए पनि कोठाभित्रै बस्ने हो । आफूले पैसा खर्च गरेर बाहिर घर राम्रो बनाउनुु भनेको छिमेकीको आँखालाई लोभ्याउने मात्रै हो । आफूले बनाएको घरमा बस्दा सन्तोष हुने खाले होस्, उकुसमुकुस नहोस् ।
Read More
अन्ततः बाबुराम र प्रचण्ड मिल्दै, यसरि भयो गोप्य भेटघाट
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।
‘उपराष्ट्रपतिज्यू धेरै बोल्नुहुन्न। उहाँले सक्रिय राजनीति गर्ने पनि होइन। तर तीन जना बिचको भावनात्मक सम्बन्ध विशिष्ठ खालको छ। प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गर्नुभयो। बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्नुभयो र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हाल्नुभयो,’ स्रोतले भन्यो, ‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो। यसअघि पनि प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपति निवासमा भएको थियो।’