सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।
सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवी–देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ । यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ ।
आइतबारः आइतबारलाई सूर्य देवको बार मानिन्छ । यस दिन व्रत बस्नु, घिऊँ, तेल र नुनबाट टाढा रहनुले शुभ फल मिल्नेछ । आइतबारको दिन रातो रंगको कपडा लगाउने, रातो चन्दनको टीका लगाउने र रातै रंगको फल–फूल सूर्य नारायणलाई अपर्ण गरी गरिबहरुलाई बाढेको खण्डमा फल प्राप्ति हुनेछ ।
सोमबारः सोमबारको दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । विवाह नगरेका कन्याले आफुले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकांक्षा पूरा हुने विश्वास छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुनेछ ।
मंगलबारः मंगलबारको दिन हनुमान र मंगल ग्रहको लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ ।
बुधबारः यो दिन बुद्धिका दाता भगवान श्री गणेशको उपासनाको दिन हो । बुधबार श्री गणेशका साथै बुध ग्रहको पनि पूजा गरिन्छ । यो दिन हरियो रंगको कपडा लगाउनु शुभ हुनेछ । मुंगको दाल, घिऊँ वा दहीको दान गरेमा समाजमा मानसम्मान बढ्ने र बुद्धि बढ्ने छ । साथै, यो दिन दही युक्त अन्नले भगवान विष्णुको पूजा गर्नाले पुत्र सुख मिल्ने छ ।
बिहीबारः बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।
शुक्रबारः यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।
शनिबारः यो दिन भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।
शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना
विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न गरिएको छ । शास्त्रीको श्रद्धाञ्जलिसभा गरिएको सो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडाँै नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
श्रद्धाञ्जलिसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । शुक्रराजको जन्म १९५० सालमा बनासरमा भएको हो । भारतबाटै प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले पटना, दार्जिलिङ, कोलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसक्नुभएको थियो । त्यसपछि नेपाल फर्कनुभएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो ।
राणाको विरोध गरेको आरोप लगाएर उहाँलाई १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजिवन कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।
त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि काठमाडौँ महानगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।
प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।