काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड-माधव समूहको केही कार्यकर्ता आज (बिहीबार) बिहानै पक्राउ परेका छन् । युवा नेता रामप्रसाद सापकोटाका अनुसार प्रचण्ड-माधव समूहका केही युवाहरुलाई सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । सापकोटाका अनुसार मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डे पक्राउ परेका छन् । उनले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् ।
प्रहरीले पनि बन्द गराउँदै हिँडेका केहीलाई पक्राउ गरेको जनाएको छ । सामाखुसी, सोह्रखुट्टे, महाराजगञ्ज र बानेश्वरबाट केही प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ ।
सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज आमहड्ताल गर्ने घोषणा गरेको छ । आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
गृहले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध गर्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।
बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।
बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक रुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा बिहीबार देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।
प्रचण्ड–माधवको समूहले आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, मिडिया, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुनु प्रचण्ड–माधव समूहले जनाएको छ । यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने प्रचण्ड–माधव समूहले जनाएको छ ।