काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको समुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८।८६ मिटर पुगेको छ । मंगलबार नेपाल र चीनले संयुक्त रुपम सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।
नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा विश्वकै अग्लो हिमशिखर सगरमाथाको उचाइ मापन गरेको हो । भारतले पहिलोपटक सन् १९५५ मा मापन गरेको आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिँदै आएको छ। नेपालले त्यसलाई आधिकारिक मान्यता दिएको थियो।
सगरमाथाको उचाइ भने ११ पटक मापन गरिसकिएको छ। भारतले मात्रै ३ पटक मापन गरेको छ। त्यस्तै चीन र इटालीले २–२ पटक मापन गरेका छन्। अमेरिका, डेनमार्क लगायतका देशले पनि सगरमाथाको उचाइ मापन गरिसकेका छन्। ती मापनमा उचाइ फरक फरक थियो। त्यही कारण नेपाल आफैँले उचाइ मापन गरेको हो।
१५ करोड खर्चमा नापी विभागले अत्याधुनिक प्रविधिसहित ४ वटा प्राविधिक टोली परिचालन गरी २ वर्ष बढी समय लगाएर नापेको जानकारी दिएको छ।
छिमेकी मुलुक चीनले पनि उत्तरतर्फबाट सगरमाथाको उचाइ मापन गरिसकेको छ। सगरमाथाको उचाइमा फरक नआओस् भनेर दुवै देशले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन्। चीनले सन् २००५ मा गरेको मापनको आधारमा अहिलेसम्म विश्वकै अग्लो शिखरको उचाइ ८ हजार ८ सय ४४।४४ मिटर रहेको जनाउँदै आएको छ। सगरमाथाको उचाइ घोषणाको कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो। कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीले सम्बोधन गरेका थिए।