सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । आफूहरु एमालेमा फर्किएको सुनाउँदै उनले अब पार्टीलाई एकदम बलियो बनाउने पनि सुनाए । प्रस्तुत छ रावलसँगको कुराकानीको सम्पादित अंश :तपाईँ एमालेको उपाध्यक्ष बन्नुभयो होईन ? म पहिलेपनि थिएँ । अहिले अदालतले पूर्ववत अवस्थामा रहने भनेपछि म पनि पूर्ववत् आफनो पदमा रहेँ ।
अब केपी शर्मा ओलीलाई मनैदेखि अध्यक्ष मान्न सक्नुहुन्छ ? : यो कुनै व्यक्तिगत मामला थिएन । यो राजनीतिक विधि, पद्धती, प्रणाली, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानको एउटा अन्तरसंघर्ष थियो । पार्टीमा उहाँप्रति मेरो व्यक्तिगत ईष्र्या भाव, द्धेष आदि केही पनि थिएन ।अब सर्वोच्च अदालतले यो जुन फैसला राजनीतिक रूपमा गर्यो, हामीले त्यसप्रति असहमति त जनाईनै सकेका छौँ । किनभने माग गर्दै नगरेको कुरामा प्रवेश गरेर फैसला गर्यो । तर, त्यो गरेपनि हामीले त्यसलाई स्वीकार गर्छौं । र नेकपा एमाले पूर्ववत अवस्थामा रहनेछ भनेर फैसला गरेपछि अब तत्कालिन् नेकपा एमालेको नवौं महाअधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीजी र अन्य नेताहरू, हामीहरू सबै अब एकठाउँमा हुन्छौँ ।
नेकपा एमालेलाई एकदम बलियो बनाउँछौँ । हाम्रो राष्ट्रिय स्वाधिनता, हाम्रो आफनो यो देशको अधिकारमाथि आघात पुर्याउने बाहृय तथा आन्तरिक सम्पुर्ण षड्यन्त्रलाई हामीले अब विफल पार्छौं ।त्यस्तो दिन पनि आयो है भीम रावलजी, यहाँले फेरि केपी ओलीलाई नै अध्यक्ष मान्नुपर्ने भयो है ?
होईन, हिजोपनि उहाँ अध्यक्ष हुनुहुन्थ्यो ।तपाईँले भन्नुभएको थियो–केपी ओलीलाई मैले कहिल्यैपनि स्विकार्दिन । उहाँ निरंकुश तानासाहा हो, र हामी गलत निर्णयको विरोध गछौ भन्नुभएको होइन ?
तपाईलाई म स्मरण गराउँछु । जुन÷जुन निर्णयहरूमा मैले भनेजस्ता व्यवहारहरु देखिए, जुन÷जुन निर्णयहरू पार्टीको विधिसम्मत देखिएनन । त्यहाँ÷त्यहाँ मैले त्यो प्रश्र उठाएको थिएँ । र अहिलेपनि म भन्छु । उहाँ नेकपाको नवौं महाअधिवेहनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।म पनि त्यही महाअधिवेहनबाट अत्यधिक मतले निर्वाचित उपाध्यक्ष थिएँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री भएको थिएँ । त्यसकारण उहाँ र मेरो लामो समय संगत भएको कुरापनि तपाईँ स्मरण गनुहोस् ।कुरा के मात्रै थियो भने कतिपय विषयहरूमा हाम्रा मत–मतान्तर थिए । र त्यो मतमतान्तर तर चर्किदै यतिसम्म पुगेको थियो भने जहाँ तपाईले भनेका जस्ता शब्द प्रयोग गर्नुभएको थियो । तर सर्वोच्च अदालतले फेरि नेकपा एमाले यथावत रहन्छ भनेपछि त हामी अब एक ठाउँमा जान्छौँ ।
हाम्रो नीति छन् । प्रणाली छन् । घोषणा छन् । सिद्धान्त छन् । विधि छन् । प्रक्रिया छन् । अब त्यो कुरामा अगाडि बढ्छौ । व्यक्तिगत रुपमा उहाँसंग मेरो केही पनि छैन । पार्टीको उहाँ अध्यक्ष हो । म उपाध्यक्ष हो । अरूपनि उपाध्यक्ष हुनुहुन्छ । हामी बृहत्त राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्छौं ।
तपाईँहरूको लागि पद ठुलो कुरा भयो होईन, किनभने तपाईको पद जाने भयो ? केपी शर्मा ओलीलाई तपाईले साथ नदिँदाखेरि त तपाईको पद नै जाने भयो नि त ? तपाईँको कुरा पुर्णरूपमा गलत हो । ओलीलाई साथ नदिएमा तपाईँको सांसद् पद पनि जान्छ नि त ? त्यसैले केपी ओलीलाई साथ दिनुको विकल्प छैन ?
तपाईँले जे शब्द प्रयोग गर्नुभयो, त्यो शब्द अहिलेको राष्ट्रिय राजनीति, सर्वोच्च अदालतको फैसलासम्मत छैन । यहाँ भीम रावलको मात्रै प्रश्र छ र ? तत्कालिन् नेकपा एमालेबाट निर्वाचित संख्या हेर्नुहोस न ।संघको संख्या हेर्नुहोस् । प्रदेशको संख्या हेर्नुहोस् । जनसंगठनको हेर्नुहोस के छ ? भीम रावलको मात्रै प्रश्र हो यो ? नेकपा एमालेलाई सर्वोच्च अदालतले राजनीतिमा प्रवेश गरेर यस्तो काम गरिसकेपछि । कम्युनिष्ट आन्दोलनलाई कसरि जोगाउने ? व्यक्ति भनेको अजर अमर छ र यो दुनियाँमा ? छैन नि ।त्यसकारणले यहाँ कुनै व्यक्तिप्रतिको विरोध र समर्थन होईन । यहाँ प्रश्र के हो भने ? सर्वोच्च अदालतले एमालेलाई एकै ठाउँमा राखेपछि हामी सबै यथावतमा आयौं ।
इतिहास नकोट्याऊँ, म बाट गल्ति भो मिलेर अघि बढौँ – माधव नेपाल : काठमाडौं । प्रचण्ड समूहबाट बिदा हुनुभएका नेता माधवकुमार नेपालले इतिहासलाई बिर्सी मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ । सोमबार प्रचण्ड समूहसँगको अन्तिम बैठक पछि नेपालले सबै सम्भावनाको बारेमा छलफल गरेर अघि बढ्न आग्रह गर्नुभयो । ‘हामीले त्यो तितो, पिरो मनमा राखेर पुरानो इतिहासका कुरा कोट्याएर जानु हुँदैन’, नेपालले भन्नुभयो ।उहाँले सबै सम्भावनाको बारेमा छलफल भएको र सबै सम्भावनाको बारेमा अध्ययन पनि गरिरहेको बताउनुभयो । आफूहरु राष्ट्रिय हित, लोकतन्त्रको सुदृढिकरण र समाजवादको धेय र उद्देश्य अनुरुप समाजको रुपान्तरणलाई अघि बढाएर लैजाने पक्षमा रहेको नेपालले बताउनुभयो ।
सर्वोच्च अदालतको फैसलाले एमाले एमाले तिर माओवादी माओवादी तिर भनेको भए पनि यस भित्र पनि विभिन्न पक्षको अध्ययन गरिरहेको उहाँले बताउनुभयो । सबै पक्षको अध्ययन र निर्वाचन आयोगको पत्र हेरेपछि थप प्रष्ट हुने उहाँको भनाइ छ ।सर्वोच्चको फैसला आए पनि त्यस भित्र समेत जटिलता रहेको नेपालले बताउनुभयो । ‘पूर्व एमालेको नाममा अर्को दल दर्ता छ भन्ने सुन्नमा आएको छ, पूर्वमाओवादीको नाममा पनि अर्को दल दर्ता छ भन्ने कुरा सुन्नमा आएको छ, त्यस्तो अवस्थामा सजिलै गरी पछाडि फर्कन सक्ने स्थिति बन्छ कि बन्दैन, यी जम्मै पक्षहरुको बारेमा हामी अध्ययन गर्छौ, आपसमा परामर्श गर्छौ, कानुनी पक्षदेखि लिएर सबै पक्षको बारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ’, नेपालले भन्नुभयो ।जुनसुकै ठाउँमा बसेपनि वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने, संस्थागत गर्ने, सशक्त बनाउने कार्यमा लाग्ने नेपालले प्रतिवद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रका मूल्य र मान्यतालाई ध्यानमा राखेर सबै लोकतान्त्रिक शक्तिहरुलाई पनि साथमा लिएर सहकार्य निरन्तर रुपमा जारी राख्ने उहाँले बताउनुभयो ।