काठमाडौं – चर्चित लोकदोहोरी गायक हुन्, बद्री पंगेनी । ५ दर्जनबढी गीत गाएका पंगेनीका ‘तानसेन कसौली’, ‘पीएन क्यापस’, ‘ब्युटी नम्वर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’लगायतका धेरै चर्चित छन् । हाल लाखौँको गाडी चढ्ने पंगेनी गायनमा सर्वत्र चिनिन सफल गीत भने ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो । यो गीतपछि उनले गायनमा पछाडि फर्केर हेर्नु परेन ।
पाल्पाको रामपुरमा जन्मिएका पंगेनीले २०५५ मा ‘तानसेन खस्यौली’ बोलको गीतबाट आधिकारिक गायन सुरु गरेका थिए । गायन संघर्षको समय ६ वर्ष दोहोरी साँझमा समेत काम गरेका पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान निवर्तमान अध्यक्षसमेत हुन् ।प्रतिष्ठानका लागि जग्गा किन्नेदेखि घर निर्माण गर्नेसम्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।नेकपा निकटका पंगेनीले ‘सही पनि एमाले, मै पनि एमाले’बोलको चुनावी गीत समेत बनाएका थिए । लोक गीतसंगीतले लामो फड्को मार्दा पनि यसमा लाग्ने स्रष्टाहरुको आर्थिक अवस्था अझै सुध्रन नसकेकोमा चिन्तित पंगेनीका जीवनका पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरिएको छ ।
लोकगायनमा २१ वर्ष पंगेनी लोकगायनमा व्यवसायिक रुपमा लागेको नै २१ वर्ष भयो । लोकगीत सानैदेखि गाउने उनको पहिलो लोकदोहोरी एल्बम ‘तानसेन कसौली’ हो । जुन २०५५ मा बजारमा आएको थियो ।त्यसपछि उनका ‘पिएन क्यापस’, ‘ब्युटी नम्बर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’ जस्ता लोकदोहोरी गीत आए ।उनलाई सांगीतिक क्षेत्रमा सर्वत्र चिनाउने काम भने ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ बोलका लोकगीतले गरेको थियो । उनले अहिलेसम्म ५ दर्जनबढी गीत गाएका छन् । भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय एयरपोर्ट, बारादेखि काठमाडौं आउँदा देखिने फष्टट्रयाक निर्माण लगायत हेर्दा उनी खुसी हुन्छन् रे ।
पोखराको लेखसाइड, तेह्रथुमको गुरासे हुँदै तिज्दुलेसम्म पुग्दा बनमा भेटिने फुलेको गुरास र त्यो गुरासको फुलमा रमाएका विदेशी पर्यटक उनको अर्को खुसीको विषय हो । सबैभन्दा बढी खुसी उनी अन्य देशका मानिसले नेपाल राम्रो छ भनेर भन्दा महसुस गर्दछन् । ‘काठमाडौंबाट प्लेनमा पोखरासम्म जाँदा आफूभन्दा दाहिना बस्ने पर्यटकले नेपालका हिमश्रृंखला हेरेर जब चित्याउँछन्, त्यति बेला म झन् बढी खुसी हुन्छु । आनन्दित महसुस गर्छु’ उनी भन्छन् ।
सबैको सम्पत्ति राष्ट्रियकरण : उनको व्यक्तिगत सपना अहिलेसम्म केही छैन । आफ्नो देश विश्वकै सुन्दर देशमा परेको हेर्ने सपना छ । सबै नेपाली सुखी, खुसी र रोजगार भएको उनी देख्न चाहन्छन् ।हत्याहिंसा, अन्याय, अत्याचार सबै समाप्त होस् । सभ्य नेपालीको रुपमा देशको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा बनोस् भन्ने उनको चाहना छ ।अहिले युरोप, अमेरिकाको भिषा लगाउन दाँतबाट पसिना निकाल्नुपर्छ । ती देशले हामीलाई सजिलै भिषा दिएर उल्टै घुम्न आउँ भनेर निमन्त्रण गरोस् । त्यो सपना उनले देखेका छन् ।
‘हामी सबैको सम्पत्त राष्ट्रियकरण गरौं । त्यसलाई अत्यन्तै व्यवस्थित, वैज्ञानिक तरिकाले समायोजन, परिचालन गरेर नेपाल विश्वकै उदाहरणीय राष्ट्र बनाऔं,’ उनी भन्दै गए ‘राज्यले त्यो घोषणा गर्छभने सबैभन्दा पहिले म राष्ट्रको नाममा मेरो सम्पत्ति दिन तयार छु ।’लोकगीत गाएर, नाचेर अहिले बाच्न पुग्ने अवस्था नरहेको बताउने उनी यो क्षेत्र पूर्ण व्यवसायिक र मर्यादित भएर कलाकार सक्षम भएको हेर्न चाँहन्छन् ।
त्यो प्रेमपत्र : प्रेमका पुजारी बद्रीले २०५८ मा कल्पनासँग प्रेम विवाह नै गरेका हुन् । उनको प्रेमको लामो किस्सा छ । त्यो मिडिया मार्फत धेरै पटक बाहिर आइसकेका छन् । कल्पना र उनी एउटै स्कुलमा पढ्थे । तर चिनजान भने थिएन । एकदिन उनको गाउँमा आफन्त पर्नेको घरमा कल्पना गएको रहिछन् ।
त्यतिबेला उनको गाउँमा भर्खर ट्याक्टर पुगेको थियो । त्यो ट्याक्टर हेर्न पूरै गाउँ उल्टिएका थिए । कल्पना पनि त्यही भिडमा थिइन् । कल्पनासँग उनको पहिलो पटक आँखा त्यही जुध्यो । त्यहाँ दुबैको हेराहेर मात्रै भएको थियो ।
चिनजान भने भोलिपल्ट स्कुलमा भयो । कल्पना त्यति बेला ५ कक्षामा पढ्थिन् । उनी ७ मा पढ्दै थिए । त्यही चिनजानमा हिमचिप बढ्यो । चिठी आदानप्रदान हरेक दिन हुन थाल्यो । यो क्रम धेरै समय चल्यो ।‘प्रेम बढ्दै जाँदा कल्पनालाई भगाउने सुरसार गर्दै थिएँ म तर कल्पनाको आमाले साथ दिएको कारण विवाह गर्न सफल भयौं,’ उनले भने, ‘कल्पनाले त्यतिबेला पठाएको त्यो प्रेमपत्र ९चिठ्ठी० अहिले पनि म सँग धेरै सुरक्षित छन् ।